कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नु परेमा कम्पनी ऐन, २०६३ (यसपछि "ऐन" भनिएको) को दफा २१ को उपदफा (१) बमोजिम साधारण सभामा विशेष प्रस्ताव पारित गर्नु पर्ने व्यवस्था रहेको छ। सो विशेष प्रस्ताव पारित भएमा ऐनको दफा २१ उपदफा (२) को प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन भएको बेहोराको जानकारी कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई दिनु पर्ने हुन्छ र सोका निम्ति कम्पनी निर्देशिका, २०७२ (यसपछि "निर्देशिका" भनिएको) को दफा २५ (ख) बमोजिम संशोधित प्रबन्धपत्र र नियमावली पेस गर्नुपर्ने हुन्छ। यसरी पेस गर्नुपर्ने संशोधित प्रबन्धपत्र तथा नियमावलीमा ऐनको दफा १९ तथा निर्देशिकाको दफा १९ बमोजिम गर्नुपर्ने सहीछाप केकसरी गर्नुपर्ने हो?
प्रश्न किनपनि जायज छ भन्दा यदि कोही संस्थापक साधारण सभामा अनुपस्थित भएमा, संस्थापकले आफूले लिन मन्जुर गरेको शेयर सङ्ख्याको भुक्तानी नगरेका कारण सो शेयर जफत भएमा, संस्थापकले आफ्नो सम्पूर्ण शेयर विक्री गरेमा वा अन्य कुनै कारणले कम्पनीको शेयरधनी नै नरहेमा वा सो संस्थापकको मृत्य भई निजको हकको शेयर अन्य हकवालाको नाममा हस्तान्तरण भएमा र कम्पनीको साधारण सभामा विशेष प्रस्ताव पारित भई प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपरेमा त्यस्तो अवस्थामा संशोधित प्रबन्धपत्र र नियमावलीको हकमा केकसरी सही गर्ने हो भन्नेमा प्रचलित कानुनमा स्पष्ट व्यवस्था रहेको कम्तीमा मैले पाइन।
साथै प्रबन्धपत्र तथा नियमावलीको ढाँचामा अन्तिममा सही गरेको मिति लेख्नु पर्ने प्रावधान रहेकोमा संशोधित प्रबन्धपत्र तथा नियमावलीको हकमा कुन के मिति राख्नुपर्ने हो यस सम्बन्धमा समेत बताइ दिनुहुन अनुरोध गर्दछु।
नोट: ऐनको दफा १९ तथा निर्देशिकाको दफा १९ बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संस्थापकहरूको सहीछाप आवश्यक छ। नेपाल राजपत्र खण्ड ५७, सङ्ख्या ७, मिति २०६४।०२।१४ मा प्रकाशित सूचना १ मा समेत प्रबन्धपत्र र नियमावलीको ढाँचाको सम्बन्धमा संस्थापकहरूको सहीछापको सम्बन्धमा व्यवस्था छ।
Answer(s)