कम्पनी अद्यावधिकबारे सामान्य जानकारी
· कम्पनी अद्यावधिक गर्ने भनेको के हो?
कम्पनी ऐन, २०६३ बमोजिम नेपालमा स्थापित वा नेपालमा शाखा वा सम्पर्क कार्यालय खोलेर आफ्नो ब्यापार ब्यवसाय संचालन गरिरहेका कम्पनीले हरेक वर्ष आफ्नो कम्पनीको दर्ता प्रमाण पत्र जारी गर्ने निकाय अर्थात् कम्पनी रजिष्ट्रारको कार्यालयमा विभिन्न विवरणहरू पेश गरेर, आफू सञ्चालनमा रहिरहेको ब्यहोरा अवगत गराउने कार्यलाई कम्पनी अद्यावधिक गर्ने भनिन्छ।
· कम्पनी अद्यावधिक किन गर्नुपर्छ?
जसरी अन्य कुनै पनि संघसस्था वा निकाय दर्ता गरेपछि आफ्नो दर्ताप्रमाण पत्र नवीकरण गराउनुपर्दछ, त्यसैगरी कम्पनी पनि हरेक वर्ष सञ्चालनमा रहिरहेको कुराको सुनिश्चितता दिलाउन सोको नियामक निकायबाट प्रमाण लिन आवश्यक हुन्छ। अतः कम्पनी ऐन अनुसार कम्पनीहरूको मूल दर्ता गर्ने निकाय कम्पनी रजिष्ट्रारको कार्यालयबाट कुनै पनि कम्पनीको दर्ता कायमै छ भन्ने प्रमाण लिनका लागि अद्यावधिक गर्नुपर्दछ। कम्पनी ऐनले नवीकरण भन्ने प्रावधान राखेको नभएता पनि कम्पनीका आवश्यक विवरणहरू तोकिएको समयमै अनिवार्यरूपमा बुझाउनुपर्ने ब्यवस्था गरेको हुँदा, त्यसरी विवरणहरू समयमा बुझाउनाले कम्पनी अद्यावधिक हुन्छ।
· कम्पनी अद्यावधिक नगरेमा के हुन्छ?
कम्पनी अद्यावधिक नगरेमा अर्थात बुझाउनुपर्ने विवरण समयमा नबुझाएमा जरिवाना लाग्दछ। हरेक विवरणहरूका लागि बेग्लाबेग्लै जरिवानाको रकम तोकिएको छ र त्यस्तो विवरण बुझाउन जति ढीला हुँदै जान्छ, त्यस्तो जरिवानाको रकम बढ्दै जान्छ।
· कम्पनी अद्यावधिक कहिले गर्नुपर्छ?
हरेक कम्पनीले आफ्ना कारोवार सञ्चालनका क्रममा गरेका निर्णयहरू, विवरणहरू उक्त निर्णय गरेको वा विवरण स्वीकृत भएको मितिले विभिन्न हदम्यादभित्र (१५ दिन, २१ दिन, ३५ दिन, तीन महिना वा सो आर्थिक वर्ष भित्र वा आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र, इत्यादि) कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरिसक्नुपर्दछ। सामान्यतया, हरेक वर्षको पौष मसान्तभित्र सबैजसो विवरण पेश गरिसक्नुपर्ने हुन्छ।
· कम्पनी अद्यावधिक कस्ले गर्नुपर्छ?
हरेक कम्पनीको आधिकारीक ब्यक्ति वा नीजले अधिकार प्रदान गरेको ब्यक्तिले अद्यावधिक गर्ने कार्य गर्न सक्दछ।
· कम्पनी अद्यावधिक गर्न के गर्नुपर्दछ?
सर्वप्रथमतःकम्पनीको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयमा एउटा आधिकारिक प्रयोगकर्ता “युजरनेम” (username), लिनुपर्दछ। त्यसका लागि यो विद्युतीय ठेगानामा जान सक्नुहुनेछ। https://application.ocr.gov.np/faces/OnlineUserLogin.jsp तत्पश्चात् सोही युजरनेमबाट कम्पनी रजिष्ट्रारको कार्यालयको विद्युतीय अभिलेखालय (www.ocr.gov.np)मा प्रवेश गरी आफ्ना विवरणहरू दाखिला गर्नुपर्दछ।
· कम्पनी अद्यावधिक गर्ने चाहिने कागजात वा जानकारी के के हुन्?
कम्पनी अद्यावधिक गर्न निम्मनानुसारका विवरण वा कागजात आवश्यक पर्दछन्-
१) दफा ११२ बमोजिमको विवरण:
कम्पनी ऐनको दफा ११२मा कस्तो ब्यक्ति उक्त कम्पनीका लागि लेखापरीक्षकमा नियुक्त हुन नसक्ने भनेर खुलाइएको छ। जस अनुसार,
दफा ११२ को उपदफा (१) को देहायमा उल्लिखित व्यक्ति वा त्यस्ता व्यक्ति हिस्सेदार भएको फर्म वा कम्पनी लेखापरीक्षकमा नियुक्त हुन र नियुक्त भइसकेको भए पनि बहाल रहन सक्ने छैन। जसमा कम्पनीको सञ्चालक, नियमित पारिश्रमिक वा नगद सुविधा पाउने गरी नियुक्त सल्लाहकार, कम्पनीको व्यवस्थापन समूहमा रहेको व्यक्ति वा कर्मचारी वा कामदार वा निजहरु कसैको साझेदार वा त्यस्तो साझेदारमध्ये कुनैको कर्मचारी वा निजहरुमध्ये सञ्चालक वा साझेदारको नजिकको नातेदार वा निजको कर्मचारी, कम्पनीबाट कुनै किसिमले ऋण लिएको आसामी वा कम्पनीलाई तिर्नु बुझाउनु पर्ने कुनै रकम म्यादभित्र भुक्तान नगरी बाँकी रहेको व्यक्ति वा त्यस्तो व्यक्तिको नजिकको नातेदार, लेखापरीक्षणसम्बन्धी कसूरमा सजाय पाएको तीन वर्षको अवधि भुक्तान नभएको व्यक्ति, साहूको दामासाहीमा परेको व्यक्ति, कम्पनीको आधारभूत शेयरधनी वा कम्पनीको चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको शेयरधनी वा निजको नजिकको नातेदार, भ्रष्टाचार, ठगी वा नैतिक पतन हुने फौजदारी कसूरमा सजाय पाएको पाँच वर्षको अवधि भुक्तान नभएको व्यक्ति, कम्पनीसँगको कारोबारमा कुनै स्वार्थ भएको व्यक्ति वा निजको नजिकको नातेदार वा कम्पनीसँगको कारोबारमा कुनै स्वार्थ भएको अर्को कम्पनीको सञ्चालक, पदाधिकारी वा आधारभूत शेयरधनी ।
उपदफा (२)ले लेखापरीक्षकले आफू नियुक्त हुनुअघि उपदफा (१) बमोजिम अयोग्य नभएको कुरा कम्पनीलाई लिखित रुपमा जानकारी गराउनु पर्नेछ ।
त्यसैगरी उपदफा (३)ले कुनै लेखापरीक्षक आफ्नो कार्यकाल समाप्त नहँुदै कुनै कम्पनीको लेखापरीक्षण गर्न अयोग्य भएमा वा कम्पनीको लेखापरीक्षक नियुक्त हुन वा कायम रहन नसक्ने स्थिति उत्पन्न भएमा निजले लेखापरीक्षण गर्नु पर्ने वा गरिरहेको काम तत्काल रोकी सो कुराको जानकारी लिखित रुपमा कम्पनीलाई दिनु पर्ने ब्यवस्था गरेको छ भने उपदफा (४)ले यस दफाको प्रतिकूल हुने गरी नियुक्त भएको लेखापरीक्षकले गरेको लेखापरीक्षण मान्य नहुने कुराको ब्यवस्था गरेको हुँदा यी अवस्थाहरू उक्त कम्पनीमा विद्यमान छ छैनन् भनी विवरण खुलाएर कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्दछ।
२) वार्षिक साधारणसभाको माइन्यूट
वार्षिक साधारण सभा गर्ने कम्पनी भए वार्षिक साधारण सभाको माइन्युट, वार्षिक साधारण सभा नगर्ने कम्पनी (एकल स्वामित्व रहेकोले साधारणसभा गर्नै नपर्ने) ले संचालकका निर्णयहरू
३) सञ्चालक समितिको माइन्युट
सञ्चालक समिति रहने कम्पनी भए सञ्चालक समितिका निर्णयहरू र एकल स्वामित्वको कम्पनी भए संचालकले गरेको निर्णयहरू
४) वार्षिक साधारण सभाको सुचना
सञ्चालक समितिले निर्णय गरी कम्पनी सचिवले प्रकाशन गरेको सूचना। वार्षिक साधारण सभा गर्न नपर्ने कम्पनीको हकमा साधारण सभा गरिरहन नपर्नेवारे जानकारी।
५) वार्षिक प्रतिवेदन वा लेखा (अडिट रिपोट)
वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन
६) दफा ५१ को विवरण
शेयर, डिबेन्चर, ऋणपत्रको लगत
७) सञ्चालक लगत
कम्पनीमा रहेका सञ्चालकहरूको विवरण
८) लेखा परीक्षकको नियुक्ती
चालु आ.व.मा लेखापरीक्षण गर्नका लागि नियुक्त गरिएको लेखापरीक्षकको नियुक्ती पत्र
९) कम्पनी सचिवको नियुक्ति र निजको प्रमाणपत्र
कम्पनीका काम कारवाही चलाउन कम्पनी सचिव नियुक्त गरिएको छ भने, त्यसको नियुक्तिपत्र र नीजको प्रमाणपत्र
१०) ठेगानाको जानकारी (दफा१८४)
कम्पनीको ठेगाना कहाँ रहेको छ सो बारेमा जानकारी, सरेको भए सर्नको लागि लिएको अनुमति
११) शेयर लगत
कम्पनीमा को कसले कति लगानी गरेको छ, सो खुलाउने अर्थात् शेयर बाँडफाँड, लगतको विवरण
१२) सम्बन्धित निकायको स्वीकृतिपत्र
कम्पनी दर्ता गर्दैमा कुनै जे सुकै ब्यापार ब्यवसाय गर्न पाउने भन्ने हुँदैन। त्यसका लागि सम्बन्धित नियामक निकायबाट व्यवसाय सञ्चालन वा कारोवारको लागि अलग्गै स्वीकृति लिएर मात्र कारोबार सञ्चालन गर्नुपर्ने हुँदा त्यस्तो कारोबार गर्न सम्बन्धित निकायले दिएको स्वीकृतिपत्र।
१३) निवेदनहरु
कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेका वा गर्नुपर्ने निवेदनहरू
१४) पूँजि चुक्ता प्रमाण
कम्पनीले आफ्नो शेयरधनीहरूबाट शेयर बाफतको रकम भुक्तानी लिइसकेको प्रमाण, बैंक दाखिला वा नगदी रसीद इत्यादि।
१५) लगानीको श्रोत फारम
कम्पनीमा अनधिकृत तवरले कुनै कालो धन वा यस्तै गैरकानूनी स्रोतबाट आर्जित गरिएको रकम लगानी भएको छैन भन्ने सुनिश्चित गर्न लगानीको स्रोतको विवरण खुलाइएको कागजात
१६) सर्वसम्मत सम्झौता भएको भए सोको प्रति
साझेदार वा लगानीकर्ताहरूबीच त्यस्तो कम्पनी गठन गर्ने सम्बन्धमा कुनै सर्वसम्मत सम्झौता गरिएको भए सो को प्रति
१७) कुनै सूचना भए सोको पत्र
कम्पनीले कुनै सार्वजनिक वा यस्तै कुनै सूचना प्रकाशित वा प्रसारित गरेको भए सो सूचना
१८) दफा ९२ को विवरण
· दफा ९२(१) बमोजिम सञ्चालकले आफूले पद बहाल गरेको १५ दिनभित्र बुझाउने विवरणहरूः-
· ९२(१)(क) कम्पनीको कारबारसंग आफ्नो नीजि स्वार्थ बाझिने कुरा
· ९२(१)(ख) कम्पनीको प्रबन्ध सञ्चालक, कम्पनी सचिव र पदाधिकारी नियुक्तिमा नीजि स्वार्थ बाझिने कुरा
· ९२(१)(ग) अन्य कुनै कम्पनीको सञ्चालक रहेमा
· ९२(१)(घ) कम्पनी वा त्यस्तो कम्पनीको मुख्य वा सहायक कम्पनीको शेयर वा डिबेञ्चरको कारोबार गरेको भएमा त्यस्तो कारोबारको विषय
· ९२(२) उपदफा (१) बमोजिम जानकारी गराउँदा कम्पनी र सञ्चालक वा निजको नजिकको नातेदार बीचमा कुनै लिखित सम्झौता भएकोमा त्यस्तो सम्झौताको प्रतिलिपि पेश गर्नु पर्नेछ र त्यस्तो सम्झौता नभएमा कारोबार वा स्वार्थ वा संलग्नतासँग सम्बन्धित मुख्य र आवश्यक कुरा खुलाइएको हुनुपर्नेछ ।
· ९२(३) उपदफा (१) बमोजिमको जानकारी कम्पनीले प्राप्त गरेको सात दिनभित्र कार्यालयमा पेश गर्नु पर्नेछ र कार्यालयले त्यस्तो जानकारी प्राप्त गरेपछि सो प्रयोजनको लागि खडा गरेको छुट्टै दर्ता किताबमा अभिलेख गरी राख्नु पर्नेछ ।
· कम्पनी अद्यावधिक गर्न कहाँ सम्पर्क राख्नुपर्दछ?
सक्षम कम्पनीहरूले आफै र क्षमता नहुनेहरूले कम्पनीसम्बन्धी विद्युतीय दाखिला गर्न सहजीकरण गर्न नेपालका विभिन्न स्थानहरूमा अनुमतिप्राप्त सहजकारी सेवा प्रदायकहरू रहेका छन् त्यस्ता सेवाप्रदायकहरू वा अनुभवी कानुन व्यवसायीहरूको मद्दतले आफ्नो विवरण अद्यावधिक गराउन सक्दछन्।
· अद्यावधिक नगरेमा के कति जरिवाना लाग्दछ?
कम्पनी ऐन २०६३को दफा ८१ ले विवरण नपठाएमा जरिबाना हुने व्यवस्था गरेको छ। यस ऐन बमोजिम कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई उपलब्ध गराउनु पर्ने कुनै विवरण, सूचना वा जानकारी वा कम्पनीलाई पदाधिकारी वा शेयरधनीले उपलब्ध गराउनु पर्ने जानकारी उपलब्ध गराउन यस ऐनमा कुनै म्याद तोकिएकोमा त्यस्तो म्याद भित्र सम्बन्धित कम्पनीले सञ्चालक वा त्यस्तो विवरण, सूचना वा जानकारी कार्यालय वा कम्पनीलाई उपलब्ध गराउनु पर्नेछ ।
उपदफा (१) बमोजिमको म्यादभित्र दफा ५१,७८,१२०,१३१ वा १५६ बमोजिमको विवरण, सुचना, जानकारी वा जवाफ उपलब्ध नगराउने कम्पनीका संचालक वा त्यसका पदाधिकारीलाई रजिष्ट्रारले जरिवाना गर्नेछः-
(क) म्याद भुक्तान भएको तिन महिना सम्मको लागि पच्चीसलाख रुपैंयासम्म चुक्ता पूँजी भएको कम्पनी भए एक हजार रुपैंया, एककरोड रुपैंयासम्म चुक्ता पुँजी भएको कम्पनी भए दुइ हजार रुपैंया र सो भन्दा बढि चुक्ता पूँजी भएको कम्पनी भए पाँच हजार रुपैंया ।
(ख) खण्ड (क) बमोजिमको म्याद भुक्तानी भएको मिति देखी थप तिन महिना सम्मका लागि पच्चीस लाख रुपैंया सम्म चुक्ता पूँजी भएको कम्पनी भए पन्ध्रसय रुपैंया, एक करोड रुपैंया सम्म चुक्ता पूँजी भएको कम्पनी भए तीन हजार रुपैंया र सो भन्दा बढि चुक्ता पूँजी भएको कम्पनी भए सात हजार रुपैंया ।
(ग) खण्ड (ख) बमोजिमको म्याद भुक्तानी भएपछि थप छ महिना सम्मका लागि पच्चीस लाख रुपैंया सम्म चुक्ता पुँजी भएको कम्पनी भए दुई हजार पाँच सय रुपैंया, एक करोड रुपैंया सम्म चुक्ता पूँजी भएको कम्पनी भए पाँच हजार रुपैंया र सो भन्दा बढि चुक्ता पूँजी भएको कम्पनी भए दश हजार रुपैंया ।
(घ) खण्ड (ग) बमोजिमको पनि म्याद भुक्तानी भईसकेकोमा पच्चीस लाख रुपैंया सम्म चुक्ता पूँजी भएको कम्पनी भए प्रत्येक बर्षका लागि पाँच हजार रुपैंया, एक करोड रुपैंया सम्म चुक्ता पुँजी भएको कम्पनी भए प्रत्येक वर्षका लागि दश हजार रुपैंया र सो भन्दा बढि चुक्ता पुँजी भएको कम्पनी भए प्रत्येक वर्षका लागि बीस हजार रुपैंया ।
दफा ८१को उपदफा (१) बमोजिमको म्यादभित्र त्यस्तो विवरण, सूचना वा जानकारी उपलब्ध नगराउने मुनाफा वितरण नगर्ने कम्पनीको हकमा त्यस्तो कम्पनीको सञ्चालक वा पदाधिकारीलाई एक करोड रुपैंया सम्म चुक्ता पूँजी भएको कम्पनीलाई हुने सरहको जरिवाना हुनेछ ।
यस ऐन बमोजिम कार्यालयमा पठाउनु पर्ने अन्य विवरण, सूचना वा जानकारी उपलब्ध नगराउने कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारी वा शेयरधनीलाई त्यस्तो विवरण, सूचना वा जानकारी उपलब्ध गराउनु पर्ने म्याद समाप्त भएको मितिले एक महिना भुक्तान भएपछि प्रत्येक महिनाको दुइ सय रुपैंयाको दरले जरिवाना हुनेछ ।
अतः कम्पनीले माथिका विवरण, कागजात वा जानकारीहरू कम्पनी रजिष्ट्रारको कार्यालयमा विद्युतीय माध्यमबाट बुझाउने कार्यलाई नै कम्पनी अद्यावधिक गर्ने भनिन्छ। नेपालमा अहिलेसम्म करिब २,८१,००० कम्पनी दर्ता भएको देखिन्छ भने कम्पनीको विवरण समयमै नबुझाएका कम्पनीहरू पनि थुप्रै रहेका छन् भन्ने जानकारीमा आएको छ।